काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभर रहेका औद्योगिक क्षेत्रको वस्तुगत अवस्था अध्ययन गरी आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि समिति सक्रिय रूपमा अघि बढ्ने बताएका छन्।
मंगलबार बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति अन्सारीले औद्योगिक क्षेत्रको व्यवस्थापन, उद्योगहरूको सञ्चालन अवस्था तथा श्रमिकको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिन निरीक्षण गरिएको बताए। उनले बालाजुमा मात्र सीमित नरही देशभरका औद्योगिक क्षेत्रको अवस्था अध्ययन गरिने उल्लेख गर्दै उद्योग सञ्चालनमा देखिएका चुनौती, व्यवस्थापनको प्रभावकारिता र श्रमिकको अवस्था मूल्याङ्कन गरिने जानकारी दिए।
सभापति अन्सारीका अनुसार स्थलगत अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा समितिले उद्योग क्षेत्रसँग सम्बन्धित नीति, कानुन तथा कार्यान्वयन प्रक्रियाको समीक्षा गर्नेछ। देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक जवाफ माग्दै सुधारका पहल अघि बढाइने उनले बताए। उनले औद्योगिक विकासलाई प्रभावकारी बनाउन उद्योगसँग सम्बन्धित नीतिगत विषयमा समितिमा गम्भीर छलफल हुने र आवश्यक परे कानुनी सुधारका लागि पनि पहल गरिने स्पष्ट पारे। सभापति अन्सारीले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई थप अधिकारसम्पन्न, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्न समितिले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। औद्योगिक क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र उत्पादनमुखी बनाउने विषय समितिको प्राथमिकतामा रहने उनको भनाइ छ।