धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट र त्यससम्बन्धीका विधेयकहरू २३ दिनपछि मात्रै प्रदेशसभा समक्ष टेबुल गरेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट र बजेटसँग आश्रित विधेयकहरू टेबुल गरेका हुन्।
मन्त्री धामीले राजस्व र व्ययको वार्षिक बजेट, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक तथा सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक) लाई सभासमक्ष पेस गरेका छन्।
गत असार १ गतेको मध्यराति आर्थिक मामिलामन्त्री धामीले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। तर, बजेट प्रस्तुत भएको २३ दिनसम्म पनि आन्तरिक विवाद र असन्तुष्टिका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको थिएन।
मंगलबार जम्मा पाँच मिनेट मात्रै बसेको संक्षिप्त प्रदेशसभा बैठकमा बजेट बाहेक अन्य महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पनि पेस गरिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदनका साथै थारु आयोग, मुस्लिम आयोग र मधेशी आयोगको सातौँ वार्षिक प्रतिवेदनहरू सभासमक्ष पेस गरेका छन्।
चौतर्फी असन्तुष्टि र विरोधका बीच टेबुल भएको सुदूरपश्चिमको यो बजेट अब कसरी अगाडि बढ्छ र सरकारले यसलाई कसरी पास गराउँछ भन्ने कुरा चासोको विषय बनेको छ।