काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर पक्षले अघि सारेका १११ केन्द्रीय सदस्यलाई वर्तमान समितिमा समायोजन गर्ने तथा क्रियाशील सदस्यता अद्यावधिक नगर्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।
जापानस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले कांग्रेसको विधानविपरीत जाने कुनै पनि निर्णय आफूले गर्न नसक्ने स्पष्ट पारे। उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित १११ केन्द्रीय सदस्यलाई हालको केन्द्रीय समितिमा समेट्ने व्यवस्था विधानमा नभएकाले त्यस्तो माग कार्यान्वयन गर्न सम्भव छैन। त्यस्तै, क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया रोक्ने प्रस्ताव पनि विधान, संगठनात्मक अभ्यास र लोकतान्त्रिक मूल्यअनुकूल नरहेको उनको भनाइ थियो।
थापाले पार्टीको विधानले नदिएको अधिकार प्रयोग गर्न नसकिने उल्लेख गर्दै विधानविपरीत निर्णय गर्नु अव्यावहारिक र अराजनीतिक हुने बताए। यद्यपि, उनले १५औँ महाधिवेशनलाई सबै पक्षको साझा महाधिवेशन बनाउने प्रतिबद्धता व्यक्त गरे। सभापतिलाई प्राप्त अधिकारको प्रयोग गर्दै बढीभन्दा बढी नेता–कार्यकर्तालाई जिम्मेवारी र सहभागिता दिलाउन आफू तयार रहेको उनको भनाइ थियो। थापाले महाधिवेशनको मिति निर्धारणदेखि सदस्यता छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति तथा महाधिवेशन व्यवस्थापन समितिलगायत विभिन्न संरचनामा संस्थापनइतर पक्षको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफू सकारात्मक रहेको पनि बताए।