काठमाडौँ । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार ललितपुरस्थित बी।पी। स्मृति भवनमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले २०८२ चैत ११ गते गरेको निर्णयअनुसार १५औँ महाधिवेशनको तयारीस्वरूप विदेशस्थित जनसम्पर्क समितिहरूको महाधिवेशन २०८३ साल साउन मसान्तभित्र सम्पन्न गर्न जारी गरिएको कार्यतालिका प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।
पार्टी विधान, २०१७ (संशोधनसहित)को धारा १४(३)अनुसार जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले खटाएको प्रतिनिधिको उपस्थितिमा मात्रै गर्नुपर्ने व्यवस्था रहेको समितिले स्मरण गराएको छ। निर्वाचन समितिका अनुसार विदेशस्थित जनसम्पर्क समितिहरूले महाधिवेशनअघि आफ्ना सदस्यहरूको विवरण अनिवार्य रूपमा केन्द्रमा पठाई सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृति लिनुपर्नेछ। त्यसपछि मात्र निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने प्रक्रिया अघि बढाइनेछ।
त्यस्तै, महाधिवेशनको मिति तय भएपछि समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन र समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै अधिवेशन सम्पन्न गर्न सबै जनसम्पर्क समितिलाई परिपत्र गर्ने निर्णय पनि बैठकले गरेको छ। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र विधानअनुकूल बनाउन विदेशस्थित पार्टी संगठनहरूको अधिवेशनसमेत निर्धारित मापदण्ड र कार्यतालिकाअनुसार सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।