काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छिन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकीय स्वरूप परिवर्तन गर्न नहुने धारणा राखेकी हुन् ।
आवश्यकता र कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने भए पनि नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकमा प्रत्यक्ष कार्यकारी शासन प्रणाली सान्दर्भिक नहुने उनको तर्क थियो ।
लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै उनले जनादेश प्राप्त गरिसकेपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने प्रस्ट पारिन् ।
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको सङ्घारमा उभिएको चर्चा गर्दै पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई कम्युनिस्ट पार्टीहरूले गम्भीर आत्मसमीक्षा र आत्ममन्थनको अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् । तर, कुनै एउटा निर्वाचनको परिणामकै आधारमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा नकारात्मक निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो ।
जननेता मदन भण्डारीको प्रसंग उल्लेख गर्दै उनले रचनात्मकताको अभाव नै कम्युनिस्ट आन्दोलनको मूल समस्या भएको र आजको चुनौती हेर्दा यो निष्कर्ष अझ सान्दर्भिक देखिएको उल्लेख गरिन् । बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, सङ्गठन र कार्यशैलीमा अपेक्षित सिर्जनशीलता ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई गम्भीरताका साथ आत्मसात् गर्नुपर्ने उनले औँल्याइन् ।