चितवन । काठमाडौं- चितवनमा चार दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनअन्तर्गत बुधबार दिउँसोदेखि निर्वाचन प्रक्रियाले गति लिएको छ।
नयाँ नेतृत्वका लागि मुख्य पदहरूमा भागबन्डा भए पनि केन्द्रीय सदस्यका लागि चुनाव हुँदैछ । त्यसका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।
केन्द्रीय निर्वाचन आयोगले चितवनस्थित महाधिवेशनस्थलमा टाँसेको सूचीमा ३८४ जनाको नाम समावेश भएको नेतृ सरिता ज्ञवालीले जानकारी दिइन्।
ज्ञवालीका अनुसार अहिले निर्वाचनस्थलमा सूची टाँसिसकिएको छ। अब ती नाममा दाबी विरोधको प्रक्रिया सुरू हुनेछ । दाबी विरोधको समय सीमा सकिएपछि इलेक्ट्रोनिक भोटिङ मेसिनलाई ३८४ जनाको नाम उपलब्ध गराइनेछ । भोटिङ मेशिनमा उम्मेदवारको नाम अपडेट भएपछि मतदान प्रक्रिया सुरू हुनेछ ।
मतदानका लागि नुवाकोटका राम-लक्ष्मण खनालले इलेक्ट्रोनिक भोटिङ मेशिन बनाएका छन् । मेशिन निर्माता राम रिमालका अनुसार ३८४ जनाको नाम दर्ता गर्न ४ देखि ५ घण्टा लाग्नेछ। त्यसपछि मतदान थालिनेछ ।