काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार आफूमाथि केन्द्रित भएर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ।
मंगलबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकपछि उपमहासचिव लेखराज भट्टले सरकारका पछिल्ला गतिविधि एमाले लक्षित र अनुचित रहेको बताए।
बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई गैरकानुनी, प्रतिशोधपूर्ण र पूर्वाग्रही ठहर गरेको छ। सुर्खेतमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरी काठमाडौँ ल्याइएको थियो।
एमालेले जुन निकायको नामबाट पौडेललाई पक्राउ गरिएको हो, त्यो विषय उक्त निकायको कार्यक्षेत्रमै नपर्ने दाबी गरेको छ। सरकारलाई यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै एमालेले उपाध्यक्ष पौडेललाई नि:सर्त रिहा गर्न माग गरेको छ।
अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गर्दै पौडेललाई हिरासतमा राख्न दिएको आदेशसमेत अपेक्षित र न्यायोचित नभएको एमालेको भनाइ छ ।
एमालेले पौडेल पक्राउको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाएको छ। आगामी दिनमा कानुनी लडाइँ लड्ने र त्यसबाहेक आवश्यक अन्य कदमहरूबारे पनि पार्टीले समयानुकूल निर्णय लिने भट्टले जानकारी दिए ।