काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा प्रहरीले बिहीबार मध्यरातमा छापा मारेको छ।
विराटनगर-३ ल क्याम्पस छेउमा रहेको मन्त्री पराजुलीको क्वाटरमा राति ११ बजेतिर प्रहरी प्रवेश गरेर खानतलासी लिएको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ।
धनकुटाबाट प्रदेशसभामा दोस्रोपटक निर्वाचित एमाले नेता पराजुलीको निवासमा प्रहरीले किन छापा मारेको भन्ने खुलेको छैन।
मन्त्री पराजुली भने विराटनगर बाहिर रहेकाले यसबारे खुलेर बोल्न चाहेनन् । मन्त्री निवासमा रहेका एक कर्मचारीका अनुसार राती ११ बजेतिर आएको प्रहरीको एक समूहले निवासका कोठा कोठामा तलासी लिएको थियो।
मन्त्रीको निवासमा प्रहरीले खानतलासी गरेको विषय प्रतिनिधिसभामै उठेको छ। शुक्रबारको बैठकमा धनकुटाका सासद राजेन्द्र राइले यो कुरा उठाएका हुन्।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले विना कारण मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही हुनुपर्ने बताएका छन्।
यता प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।