काठमाडौँ। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का ले सरकारले सुशासन र पारदर्शिताको नारा दिए पनि व्यवहारमा त्यसअनुसार काम नगरेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै समितिको प्रतिवेदन सार्वजनिक नगरिकन सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएकोप्रति आपत्ति जनाए। उनले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको चर्चा चले पनि त्यसलाई सार्वजनिक नगरिएको उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए। एकातिर सुशासनको प्रतिबद्धता व्यक्त गर्ने र अर्कोतर्फ विवादमा मुछिएका व्यक्तिलाई नै जिम्मेवारी दिने प्रवृत्तिले सरकारको नियतमाथि शंका उत्पन्न गरेको उनको भनाइ थियो। खड्काले सरकार आफैंले छानबिन गर्ने, आफैं निष्कर्ष निकाल्ने र आफैं सफाइ दिने अवस्थामा पुगेको टिप्पणी गर्दै सुशासनका विषयमा भाषणभन्दा व्यवहारमा सुधार आवश्यक रहेको बताए। उनले सरकार न्याय, पारदर्शिता र जवाफदेहिताका विषयमा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै जनताले सुन्ने आश्वासनभन्दा देखिने कामको अपेक्षा गरेको धारणा राखे।