काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले निम्न आय भएका नागरिकका आवश्यकता सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले ल्याएको बजेट जनसाधारण, विशेषगरी गरिब तथा विपन्न वर्गप्रति केन्द्रित नभएको आरोप लगाइन्। उनले बजेटमा कमजोर आर्थिक अवस्थाका नागरिकको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने तथा उनीहरूको दैनिक जीवन सहज बनाउने प्रभावकारी कार्यक्रम नसमेटिएको बताइन्।
अर्यालले बजेटले आर्थिक असमानता घटाउनेभन्दा पनि आयस्तरमा रहेको दूरी अझ बढाउने खतरा रहेको उल्लेख गरिन्। उनका अनुसार बजेटका प्राथमिकता र कार्यक्रमहरूले सम्पन्न वर्गलाई बढी लाभ पुग्ने र विपन्न वर्ग थप पछाडि पर्ने अवस्था सिर्जना गर्न सक्छ। यो बजेटले तल्लो वर्गको उत्थानभन्दा पनि आर्थिक रूपमा सबल वर्गलाई थप फाइदा पुग्ने संकेत देखिएको छ,” उनले भनिन्, “यसले समाजमा रहेको आर्थिक विभाजन झन् फराकिलो बनाउन सक्छ। उपनेता अर्यालले मध्यम वर्गको सशक्तीकरणका लागि समेत गरिब तथा कमजोर वर्गको जीवनस्तर उकास्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने धारणा राखिन्। उनले समावेशी आर्थिक विकासका लागि राज्यका नीति तथा कार्यक्रमहरू सबै वर्गलाई समेट्ने खालका हुनुपर्नेमा जोड दिइन्।