बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई बर्खास्त गर्न माग गरेको छ ।
पार्टीका प्रवक्ता मनिषकुमार सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै उनलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।
सर्वोच्च अदालतले जसपालाई अमान्य ठहर गर्दै जसपा नेपाललाई वैधानिकता दिइसकेको अवस्थामा अहिरको मन्त्री नियुक्ति असंवैधानिक भएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको यस न्यायसंगत र कानुनी मागलाई नजरअन्दाज गरिएमा सम्मानित अदालतको मानहानी गर्ने तथा बलमिच्याइँमा उत्रिने लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले, कांग्रेस सत्ता गठबन्धनविरुद्ध जसपा नेपाल सशक्त कानुनी प्रक्रियामा जान बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
एक हप्ताअघि आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त अहिरले सोमबार मात्रै शपथ लिएका थिए ।