जनकपुरधाम । नगर अधिवेशनको विषयलाई लिएर आन्तरिक विवाद चुलिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरूले तालाबन्दी गरिदिएका छन्।
शुक्रबार जनकपुरधामस्थित जिल्ला कार्यसमितिको कार्यालयमा असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताहरू पुगेर ताला लगाएका हुन्।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनलाई लिएर पार्टीभित्र तीव्र गुटबन्दी सुरु भएको थियो। विवाद समाधान हुनुको साटो दुई पक्षबीच टकराव बढ्दै जाँदा दुवै समूहले छुट्टाछुट्टै अधिवेशन गरेर आ–आफ्नो समानान्तर पदाधिकारी चयन गरेका थिए।
एउटै पालिकामा दुईवटा कार्यसमिति बनेपछि केन्द्र र जिल्ला नेतृत्वले विवाद मिलाउन नसकेको भन्दै आक्रोशित कार्यकर्ताहरूले जिल्ला कार्यालयमै तालाबन्दी गर्ने स्थिति बनेको हो।