काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अभावका कारण रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन्।
फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहमा बोल्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि पार्टीको घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिमा आवश्यक सुधार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए। उनले राजनीतिक इच्छाशक्ति र विधायिकी प्रक्रियाको प्रभावकारी उपयोग हुन नसक्दा अड्किएका सुधारलाई अब गति दिइने उल्लेख गर्दै सरकारले व्यापक आर्थिक सुधारको एजेन्डा अघि सारेको बताए।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना गर्दै देशमा सकारात्मक सन्देश प्रवाह गर्न सरकारले महत्वाकांक्षी कार्यक्रमहरू अघि बढाएको बताए। उनका अनुसार २०४८ सालपछि पहिलो पटक यति ठूलो दायरामा आर्थिक सुधारका कार्यक्रम एकैपटक सार्वजनिक गरिएको हो। पूर्वाधार विकासलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले वर्षौंदेखि अलपत्र रहेका सडक तथा अन्य पूर्वाधार आयोजनालाई समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार नेपाली नागरिकको लगानी अड्किएका परियोजनाहरूलाई पनि निश्चित समयभित्र टुंग्याइनेछ। उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा सहरी विकासअन्तर्गतका अपुरा आयोजनाहरूलाई एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको जानकारी दिए। राजनीतिक श्रेयको प्रतिस्पर्धाभन्दा माथि उठेर विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी अलपत्र आयोजनाहरूलाई निष्कर्षमा पुर्याउने काम अघि बढाइएको बताए।