काठमाडौँ । नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद् भवनको आन्तरिक संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महरले संसद् भवनको हल मर्यादाअनुरूप नभएको टिप्पणी गरेका हुन्।
बैठकमा बोल्दै महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश जनमुखी कार्यक्रम, संरचना र अभ्यासहरूलाई भत्काउने काम गरिरहेको आरोप लगाए। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सबै कुरा तोड्ने अभ्यास गरे पनि संसद् भवनलाई भने सञ्चालनमा ल्याउने निर्णय गर्नु सकारात्मक भएको उनले बताए। नयाँ भवनबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने विषय सुन्दा आफूलाई असाध्यै खुसी लागेको उनको भनाइ थियो।
ठूलो लगानी र लामो समय लगाएर निर्माण गरिएको अन्तर्राष्ट्रिय स्तरको संसद् भवनलाई यसको दीर्घकालीन महत्त्वअनुसार सही ढंगले सञ्चालन र व्यवस्थापन गर्न आवश्यक रहेको सांसद महरले औंल्याए। प्रतिनिधिसभा हलको सिट र टेबलको बनोटप्रति व्यङ्ग्य गर्दै उनले भनेः “यो प्रतिनिधिसभाको हल हो, यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्। यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ, टेबलहरू कक्षाकोठाका जस्ता बनाइएका छन्। यो कार्यकक्ष वा सभाहलजस्तो देखिँदैन, फिल्म हलजस्तो बनाइएको छ।”
सांसद महरले संसद् भवनको भौतिक संरचना र बस्ने व्यवस्थापनको कमजोरीले संसद्को गरिमालाई गम्भीर असर पार्ने भन्दै यसतर्फ सरकार र संसद् सचिवालयको गम्भीर ध्यानाकर्षण गराए। उनले राष्ट्रको अर्बौँ लगानी परेको यो संरचनालाई हचुवाका भरमा नभई संसद्को मर्यादा झल्किने गरी सुधार गर्न माग समेत गरे।