काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले संसद प्रतिपक्षी दलको भएकाले जनताको पक्षमा आवाज उठाउनु स्वाभाविक भएको बताएकी छन्। मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा भइरहेको बहसलाई सामान्य र लोकतान्त्रिक प्रक्रिया भएको टिप्पणी गरिन्।
अर्यालले प्रतिपक्षले उठाएका मागलाई सत्तापक्षले ‘जुवारी खेल’ का रूपमा लिन नहुने बताइन्। उनका अनुसार प्रधानमन्त्री महिनामा कम्तीमा एक पटक संसदमा उपस्थित हुनुपर्ने व्यवस्था नियमावलीमै उल्लेख भएकाले सो व्यवस्था कार्यान्वयन गराउन आफूहरूले ध्यानाकर्षण र दबाब जारी राख्नेछ। उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै लोकतान्त्रिक संस्कार र राजनीतिक उत्तरदायित्व मजबुत बनाउनुपर्नेमा जोड दिइन्। अर्यालले आवश्यकता अनुसार मात्र विरोध गरिने स्पष्ट पार्दै संसद अवरुद्ध गर्नु उद्देश्य नभएको बताइन्। एमालेभित्र नेतृत्व परिवर्तनबारे चलेको चर्चाप्रति उनले कुनै पनि सदस्यले अध्यक्षको राजीनामा माग नगरेको दाबी गरिन्। उनले पछिल्लो निर्वाचनमा सबै पुराना दलहरू कमजोर भएको उल्लेख गर्दै राजनीतिक शक्ति सन्तुलन परिवर्तन भएको धारणा राखिन्।