काठमाडौँ । २६औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनले सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ। सो अवसरमा पोखरामा भव्य प्रेस मिट सम्पन्न भएको छ।
गण्डकी प्रदेश अध्यक्ष प्रवीण कंडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित उद्योगी, सहकारीकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका महासचिव रामप्रसाद आचार्य लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो। केन्द्रीय अध्यक्ष दाहालले विश्व दुग्ध दिवसको सन्दर्भ, नेपालको दुग्ध क्षेत्रको अवस्था, चुनौती तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए। एसोसिएसनका अनुसार संस्थामा देशभरका करिब ३०० भन्दा बढी डेरी उद्योग आबद्ध छन् भने लाखौँ किसान प्रत्यक्ष रूपमा दुग्ध उत्पादनमा संलग्न छन्। नेपालमा दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने भए पनि आधा मात्र बजारमा पुग्ने गरेको तथ्य पनि सार्वजनिक गरिएको छ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा “महिला कृषकहरूको सम्मान” रहेको छ भने राष्ट्रिय नारा “दुग्ध क्षेत्रको दिगो विकास पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” तय गरिएको छ। एसोसिएसनले जेठ १२ देखि १८ गतेसम्म देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ, जसअन्तर्गत विद्यालयस्तरीय कविता प्रतियोगिता, उपभोक्ता सचेतना कार्यक्रम र दुग्ध प्रवर्द्धनात्मक गतिविधिहरू समावेश छन्। मुख्य समारोह जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा हुने बताइएको छ। नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रको विकास, किसानको सम्मान र स्वदेशी उत्पादन प्रवर्द्धनका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।