काठमाडौँ । नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा जलविद्युत उत्पादन पर्याप्त भए पनि स्थानीय बासिन्दा अझै अँध्यारोमा बस्न बाध्य रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बझाङको विद्युत तथा सञ्चार सेवाको अवस्था अत्यन्त कमजोर रहेको बताए। सांसद महरले जिल्लामा ७० मेगावाटभन्दा बढी विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि स्थानीय स्तरमा आपूर्ति नपुगेको उल्लेख गरे। उनका अनुसार जिल्लाका करिब ४० प्रतिशतभन्दा बढी नागरिक अझै विद्युत सेवाबाट वञ्चित छन्। उनले हावाहुरीको समयमा विद्युत र टेलिफोन सेवा दुवै अवरुद्ध हुने समस्या बारम्बार देखिने गरेको पनि बताए। महरले बझाङमा तत्काल सबस्टेसन निर्माण गर्न र सञ्चार सेवा सुधार गर्न सरकारसँग माग गर्दै स्थानीयलाई उज्यालो र सहज सेवा उपलब्ध गराउन आग्रह गरेका छन्।