काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई पारित गरेको हो।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले संविधानको धारा ९५ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको उक्त नीति तथा कार्यक्रम आजै अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
संसद् सचिवालयले संयुक्त बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले कृषि, ऊर्जा, पर्यटन र रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राखेको बताइएको छ। आज प्रस्तुत हुने नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ।