काठमाडौँ । नेकपा (एमाले) दाङले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ।
चैत २३ गते बसेको एमाले जिल्ला कमिटीको बैठकले घिमिरेलाई कारबाही गर्ने निर्णय गरेको जिल्ला प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। उनका अनुसार घिमिरेले पार्टीका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेल विरुद्ध चुनावी गतिविधि सञ्चालन गरेको पुष्टि भएपछि यो कदम चालिएको हो।
घिमिरे अभिनेता तथा चलचित्र निर्माता समेत हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा उनले एमाले नेतृ शान्ता चौधरीको पहलमा टिकट पाएर चुनाव जितेका थिए।
यसअघि एमालेले घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्कासन गरिसकेको छ।