काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बरखास्त गरेका छन् । परवारको सदस्यलाई जागिरमा राखेको भन्दै विवादमा तानिएपछि प्रधानमन्त्रीले बिहीबार रास्वपाको सिफारिसमा साहलाई मन्त्री पदबाट हटाएका हुन् ।
महोत्तरी–२ बाट निर्वाचित साहले मन्त्री बनेको १४ दिनमै पदबाट हटेका छन् । पछिल्लोसमय पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काएपछि विवादमा परेका थिए। उनी विगतमा एजुकेसन कन्सल्टेन्सीको विवादमा परेका व्यक्ति थिए ।
रास्वपाको ‘राइट टु रिकल’ नीति अनुसार उनलाई पदबाट हटाइएको हो । २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए। तर, बैठकमा लगातार अनुपस्थित भएपछि बोर्डले उनलाई निलम्बनका लागि पत्र पठाएको थियो। पछि साह मन्त्री नियुक्त भएपछि श्रेष्ठ पुनः बोर्डमा फर्किएको विषयले आलोचना बढेको थियो । अब उक्त पदमा वालेनले कसलाई ल्याउलान भन्ने जिज्ञासा बढेको छ ।