काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिहरूको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले वर्तमान राजनीतिक व्यवस्था यिनै उपलब्धिहरूमा आधारित रहेको उल्लेख गर्दै तिनको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। नयाँ राजनीतिक शक्तिहरूले जनताले दिएको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले देशको समग्र विकासका लागि आफू सधैं रचनात्मक रूपमा साथ रहने धारणा राखे। सांसद शाहीले संसदलाई तथ्यमा आधारित बौद्धिक बहस गर्ने थलो बनाउनुपर्ने उल्लेख गर्दै गालीगलौज र आरोप–प्रत्यारोपभन्दा माथि उठेर विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका विषयमा केन्द्रित छलफल हुनुपर्ने बताए।
त्यस्तै उनले सबै भ्रष्टाचारका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिए। उनले उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय पूँजीको विकासबिना देश अघि बढ्न नसक्ने भन्दै वैदेशिक अनुदान र ऋणमा निर्भरता घटाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताए। साथै नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिअनुसार सम्बन्ध अघि बढाउनुपर्ने सुझाव पनि दिए।