काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारका कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सडक दुर्घटनामा प्रत्येक वर्ष हजारौँ नागरिकको ज्यान जाने गरेको उल्लेख गर्दै जोखिमयुक्त सडक खण्डमा विशेष ध्यान दिनुपर्ने बताएकी हुन्। उनले जलेश्वर–बर्दिबास सडक खण्डमा मोटरसाइकल दुर्घटनामा एसइइ परीक्षा दिएर घर फर्कँदै गरेका तीन युवाको मृत्युप्रति दुःख व्यक्त गरिन्। सांसद मियाँले ट्राफिक नियमको कडा कार्यान्वयन, गति नियन्त्रणसम्बन्धी सूचना, समयमै सडक मर्मत सम्भार, युवा तथा विद्यार्थी लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। साथै विद्यालय स्तरमै सडक सुरक्षासम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गर्न सरकारसँग माग गरिन्। उनले आपतकालीन उद्धार प्रणाली सुधार गर्दै दुर्घटना भएलगत्तै उद्धार र तत्काल उपचार सुनिश्चित गर्नुपर्ने बताइन्। समयमै सुधारका कदम नचालिए यस्ता घटनाहरू दोहोरिन सक्ने भएकाले सबै जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन्।