काठमाडौँ । आज अप्रिल १ तारिख अर्थात् 'विश्व मूर्ख दिवस' (अप्रिल फूल), नेपालसहित विश्वभर एक-अर्कालाई मूर्ख बनाएर रमाइलो गरी मनाइँदै छ। प्रत्येक वर्षको अप्रिल १ यस वर्ष चैत १९ गतेमा मनाइने यस दिन मानिसहरूले आफ्ना साथीभाइ, आफन्त र सहकर्मीहरूलाई ठट्टा वा झुक्याएर फूल बनाउने गर्छन्।
ऐतिहासिक रूपमा यो दिवसको सुरुवात फ्रान्स र अन्य युरोपेली देशहरूबाट भएको मानिन्छ। बिस्तारै यो परम्परा विश्वका अन्य मुलुकहरूमा पनि फैलियो र अहिले आधुनिक संस्कृतिमा मनोरञ्जनको एक हिस्सा बनेको छ। यो दिन अप्रत्याशित कुराहरू गरेर वा झुटो सूचना दिएर मानिसहरूलाई अचम्ममा पार्ने र पछि अप्रिल फूल भन्दै हाँसोमज्जा गर्ने गरिन्छ।
नेपालमा पनि पछिल्ला केही दशकदेखि विशेषगरी सहरी क्षेत्र र युवापुस्ता माझ यो दिवस निकै लोकप्रिय बनेको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा विभिन्न ठट्टा र भ्रामक तर रमाइला पोष्टहरू साझा गर्दै मानिसहरूले यो दिनलाई उत्सवको रूपमा लिने गरेका छन्। यद्यपि, कसैलाई पनि गम्भीर क्षति वा दुःख पुग्ने गरी ठट्टा नगर्न र रमाइलोलाई सीमाभित्रै राख्न सचेत गराइन्छ।