काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले प्रधानमन्त्री बालेन्द्र शाहलाई नौँ बुदेँ सुझाव दिएका छन् ।
सोमबार सामाजिक संञ्जालमार्फत उनले पूर्वी नेपालका समस्याहरुबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका हुन् ।
यस्ता छन् सुझाव
१. पहाडी क्षेत्रमा बाँदर र तराईमा हाती आतङ्कले नागरिकहरु आजित छन् ।
२. सरकारले "नागरिक सुरक्षित आवास" अन्तर्गत फुसको छाना हटाउने कार्यक्रमको रकम वर्षौंदेखि भुक्तानी नगर्दा नागरिकहरु ऋणको पासोमा परेका छन् ।
३. गाँजालाई वैधानिक खेती बनाउन नसक्दा सोझा र गरिब किसानहरु जेल परिरहेका छन् ।
४. भरुवा बन्दुकको लाइसेन्स तथा नवीकरणको समस्याले नागरिकहरु जेल परिरहेका छन् । (जसबाट धेरै राजस्व संकलन गर्न सकिनेछ ।)
५. बाढी, पहिरो र चट्याङमा परेका मृतकको अनिवार्य पोस्टमार्टम गर्नुपर्ने व्यवस्था छ । तर, जिल्ला अस्पतालसम्म पुऱ्याउने सुगम बाटोघाटोको अभाव र अफ्ठ्यारो भूगोलको कारण धेरै खर्च गर्नु परेर शोकमाथि ऋण थपिने बाध्यता छ ।
६. आयोजनाहरुको ठेक्का समयमा नलगाउने र लागे पनि काम नहुने चरम समस्या छ ।
७. भारतीय पर्यटकहरुले भा.रु. २५,०००/- भन्दा बढी बोक्न नपाउँदा पर्यटन व्यवसायमा ठूलो समस्या देखिएको छ । तत्काल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नगद बोक्न पाउने व्यवस्था गरियोस् ।
८. भारतीय रुपैयाँ सटही गर्ने प्रबन्ध नहुँदा मुख्य गरी इलाम र पाँचथर जिल्लामा कृषि उत्पादनहरुले सहज बजार पाउन सकेका छैनन् ।
९. पाँचथरको चिवा भञ्ज्याङ र इलामको पशुपतिनगरमा तत्काल इमिग्रेसन तथा नोट सटही सुविधासहितको कार्यालय स्थापना गरी भारत, भुटान र बङ्गलादेशका पर्यटक आवागमन सहज बनाउन सके पर्यटनमा गुणात्मक वृद्धि हुने छ ।