काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा सम्पन्न तथा अघि बढाइएका ५१ वटा मुख्य काम सार्वजनिक गरेका छन्। मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, खेलकुद, वन, यातायात र अर्थ क्षेत्रसँग सम्बन्धित विभिन्न योजनाहरू अघि बढाइएको जानकारी दिए।
मुख्यमन्त्री यादवका अनुसार उल्लेखनीय काममध्ये जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा बिरामीले घरबाटै मोबाइलमार्फत टिकट ९पुर्जा० काट्न सक्ने व्यवस्था सुरु गर्ने प्रक्रिया अघि बढाइएको छ। कृषि क्षेत्रतर्फ, किसानका लागि मलमा दिइने अनुदान घटेको विषयमा पुनः पुरानै व्यवस्था कायम गर्न संघीय सरकारसमक्ष प्रस्ताव गरिएको उनले बताए। साथै, जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक मापदण्ड तयार गरी सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए। पूर्वाधारतर्फ, राम जानकी रंगशाला निर्माणका बाँकी प्रक्रिया अघि बढाइएको छ। त्यसैगरी, इ–रिक्सा र ट्र्याक्टर चलाएर जीविकोपार्जन गर्नेहरूलाई प्रयोगात्मक परीक्षामार्फत लाइसेन्स दिने व्यवस्था मिलाउने काम पनि अगाडि बढाइएको उनले बताए। ‘एक निर्वाचन क्षेत्र, ५ किलोमिटर सडक’ योजना अन्तर्गत पहिलो चरणका काम सकिएर दोस्रो चरण सुरु गर्ने तयारी पूरा भइसकेको पनि उनले जानकारी दिए। यसका साथै, गर्मी याममा देखिने खानेपानी अभावलाई समाधान गर्न विज्ञहरूसँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने कामसमेत सुरु गरिएको मुख्यमन्त्री यादवले बताए।