काठमाडौँ । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन रोचक बनेको हो । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भएको छ । यस पटकको निर्वाचन देशभर पहिलेका निर्वाचनको तुलनामा फरक देखियो । त्यो अवस्था सुदूरपश्चिममा पनि देखिएको हो । सुदूरपश्चिमका मतदाताले यस पटकको निर्वाचनमा सहभागी भएका १२ पूर्वमन्त्री र एक मुख्यमन्त्रीलाई यस पटक चुनावमा जिताएनन्। प्रदेशका मतदाताले पुराना र पटक–पटक अवसर पाएका नेताहरूलाई यस पटक जिताउने गरी भोट नदिएको देखियो।
यसपटकको चुनावमा सुदूरपश्चिमका लामो समयदेखि रणनिति गर्दै आएका नेताहरूले नै आफ्नो साख जोगाउन सकेनन्।
अछाम–१ मा नेकपाका नेता डा भीमबहादुर रावललाई नेपाली काङ्ग्रेसका भरतकुमार स्वारले ५२६ मतको झिनो अन्तरले पराजित गरे।
उता, डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टको अवस्था झनै दयनीय बन्यो। उनी चौथो स्थानमा सीमित भए। त्यहाँ काङ्ग्रेसकै भरतबहादुर खड्काले जित निकाले।
पुराना दलका चर्चित अनुहारलाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नयाँ उम्मेदवारहरूले ठूलो धक्का दिएका छन्। कैलाली–५ मा पूर्वमन्त्री प्रेमबहादुर आले रास्वपाका आनन्दबहादुर चन्दसँग र कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगर रास्वपाकै जनकसिंह धामीसँग पराजित हुँदै संसदसम्म पुग्न असफल भए।
त्यसैगरी कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्ट र कञ्चनपुर–२ मा कांग्रेसका नारायणप्रकाश साउद पनि पराजय भए।
यस्तै उता बैतडीमा दामोदर भण्डारी, कञ्चनपुर–३ मा मानबहादुर सुनार, बाजुरामा प्रकाशबहादुर शाह, कैलाली–३ मा गौरीशंकर चौधरी, कैलाली–१ मा जनकराज चौधरी र कञ्चनपुर–१ मा तारा लामा तामाङलाई पनि यसपटक मतदाताले पत्याएनन्।
यसअघि मन्त्री भएका दुई जना पूर्वमन्त्रीले भने चुनौतीका वाबजुद पनि फेरि यस पटक चुनाव जितेका छन्।
दार्चुलाबाट नेकपा एमालेका गणेशबहादुर ठगुन्ना र बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरीले जित हासिल गर्दै प्रतिनिधिसभा पुगेका हुन्।