काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देशको समस्या आन्दोलन र घोषणा नभई समस्याको जड कार्यान्वयनको कमजोरी रहेको भन्दै काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका हुन् । ‘देशलाई नाराले होइन–दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक छ ।
हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो । आज पनि एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको छ,’ उनले लेखेका छन् । उनले हाल सम्पन्न चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभइ भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसरको रूपमा व्याख्या गरेका छन् ।