काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडी जिल्लामा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ २३ हजार ७३६ मत पाउँदै पहिलो स्थान हासिल गरेको छ। रास्वपा प्रत्यक्षतर्फ भने हरिमोहन भण्डारी ले २२ हजार १३४ मत ल्याएका थिए।
नेकपा एमाले ले समानुपातिकतर्फ १६ हजार ४९ मत प्राप्त गरेको छ। एमालेका प्रत्यक्ष उम्मेदवार दामोदर भण्डारी ले १७ हजार ९१ मत ल्याएका थिए, जस अनुसार एमालेले समानुपातिकतर्फ प्रत्यक्षभन्दा कम मत पाएको देखिन्छ। नेपाली कांग्रेस समानुपातिकतर्फ तेस्रो भएको छ। कांग्रेसले १५ हजार ९०७ मत प्राप्त गरेको छ भने प्रत्यक्षतर्फ उम्मेदवार चतुरबहादुर चन्द ले १८ हजार १९४ मत ल्याएका थिए। नेपाली कम्युनिष्ट पार्टी नेकपा ले समानुपातिकतर्फ ६ हजार ३३५ मत ल्याएको छ।
प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्ट ले ६ हजार ९ सय ६५ मत पाएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ ३ हजार ४७१ मत ल्याएको छ। राप्रपा प्रत्यक्षतर्फ भुपेनबहादुर चन्द ले २ हजार ६८१ मत ल्याएका थिए। बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएको र ६८ हजार १८२ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।