काठमाडौैँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य सन्तोष सुव्बाले स्थानीय विकास, रोजगार सिर्जना र कृषिक्षेत्र सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, मेरो एजेन्डा यही क्षेत्रका मानिसका लागि हो। मैले जे बोलेको छु, त्यही गर्छु। रोजगार सिर्जना र विकासका काममा अग्रणी भूमिका खेल्ने मेरो लक्ष्य हो।
सुव्बाले कृषिक्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने बताए। उनका अनुसार साना कृषकको उत्पादन व्यवस्थित भण्डारण, व्यवसायिकरण, उत्पादनको मूल्य सुधार र कृषि सुधारमा केन्द्रित कार्यक्रम अघि बढाइनेछ। “मैले पहिले पनि कृषिक्षेत्रमा कुरा उठाएको छु, अब त्यसलाई पहिलो प्राथमिकता दिएर सुधार गर्दै अगाडि बढाउनेछु, उनले स्पष्ट पारे। पूर्वधार, पर्यटन र कृषिको समन्वयमा नीति सुधार गर्ने योजना रहेको बताए। यो क्षेत्र पर्यटकीय हिसाबले सम्भावना बोकेको छ। साना किसानलाई व्यवसायिक बनाउने र उनीहरूको उत्पादन व्यवस्थित गर्ने मेरो प्राथमिकता हो। कृषिक्षेत्र र पर्यटनलाई जोड्दा क्षेत्रको समग्र विकासमा ठुलो योगदान पुग्नेछ, उनले भनेका छन्।
सुव्बाले वर्तमान राजनीतिमा प्रचारात्मक र यान्त्रीकरणको प्रवृत्ति बढेको बताएर, त्यसलाई सुधार्दै व्यावहारिक राजनीति र विकासमुखी कदम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। राजनीति मात्र बदलिएको छैन, तर अझ व्यावहारिक र जनमुखी बनाउनु आवश्यक छ। यो सुधारको प्रयास मेरो जिल्लामा प्रत्यक्ष असर पार्नेछ, उनले भने।