काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार छ राजनीतिक दलका उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०८२ को दफा ६४ अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। सो मापदण्ड पूरा गर्न नसक्ने उम्मेदवारमा नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा माओवादी विप्लबका होमप्रसाद आचार्य रहेका छन्। त्यसैगरी स्वतन्त्रतर्फ चित्रकुमारी देवकोटा, मिङ्मर तामाङ र सागर लामा पनि आवश्यक मत प्राप्त गर्न नसक्दा धरौटी जफत भएको जनाइएको छ नियमअनुसार महिला उम्मेदवारले पुरुषको तुलनामा आधा शुल्क मात्र बुझाउनुपर्ने व्यवस्था भएकाले महिला उम्मेदवार देवकोटाको पाँच हजार रुपैयाँ र अन्य पुरुष उम्मेदवारका दश–दश हजार रुपैयाँका दरले जम्मा ९५ हजार रुपैयाँ राज्यकोषमा जाने बताइएको छ।
रसुवामा नौ राजनीतिक दल र तीन स्वतन्त्र गरी कुल १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए। उक्त निर्वाचनमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। धरौटी फिर्ता पाउने उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङ रहेका छन्। यसैबीच निर्वाचन ऐनअनुसार सबै उम्मेदवारले चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउनुपर्ने भएकाले दल तथा स्वतन्त्र उम्मेदवारलाई आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिएका छन्।