काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ ले हालै सम्पन्न निर्वाचनलाई पार्टीले ’संघर्षको मोर्चा’ को रूपमा प्रयोग गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले निर्वाचनको परिणामले क्रान्तिको मूल बाटोलाई नरोक्ने स्पष्ट पारेका छन् ।
विप्लवले पार्टीको निर्णयअनुसार देशका १३० स्थानमा उम्मेदवारी दिएर जोस र उत्साहका साथ मोर्चा सम्हाल्ने नेता तथा कार्यकर्ताहरूलाई विशेष धन्यवाद दिएका छन् । निर्वाचनका क्रममा जनतामाझ पार्टीका विचार, नीति र उद्देश्यहरू लैजाँदा सकारात्मक सद्भाव प्राप्त भएको विप्लवले दाबी गरेका छन् ।
उनले आफ्नो सञ्जालमा “संसद्मा पुगेर मात्र होइन, जनताको बीचबाट देश र जनताको हितमा डटेर संघर्ष र निर्माणको नेतृत्व गरिनेछ,“ उल्लेख गरेका छन् । उनले चुनावी परिणामलाई हार–जितभन्दा पनि एउटा साझा लडाइँको रूपमा लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
महासचिव विप्लवले चुनावी मोर्चामा खटिने सबै कमरेडहरूलाई हृदयदेखि आभार प्रकट गर्दै आगामी दिनमा जनस्तरबाटै संघर्षलाई अघि बढाउने संकेत गरेका छन् ।
ftp://www.facebook.com/share/p/1MWBRxMceP/