काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको मत घट्नुका कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएकी छन्। राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित झाँक्रीले शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन परिणामलाई गम्भीर रूपमा लिएर पार्टीले आन्तरिक समीक्षा गर्ने बताइन्।
उनका अनुसार पार्टी कहाँ कमजोर भयो, जनताको अपेक्षा के थियो र किन पूरा गर्न सकिएन भन्ने विषयमा बैठकमार्फत छलफल गरिनेछ। उनले एमालेको नेतृत्व परिवर्तनको विषयमा भने अहिले कुनै ठोस निर्णय नभएको स्पष्ट पारिन्। “अहिलेसम्म नेतृत्व परिवर्तनको विषयमा कुनै एजेन्डा बनेको छैन। पार्टीको औपचारिक बैठकले मात्रै यस्ता विषयमा निर्णय गर्छ,” उनले भनिन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा पुगेको छ। सो निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहसँग पराजित भएका थिए।