काठमाडौँ । नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र बहादुर सिंहले कांग्रेसका सभापति गगन थापाको राजीनामा माग्नेहरू पार्टीभित्रकै अन्तरघाती भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरू कांग्रेसको झण्डा बोकेर पनि ‘घण्टी’मा भोट हाल्ने व्यक्तिहरू भएको बताएका हुन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा पराजित भएपछि पार्टीभित्रैबाट उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ।
सर्लाहीमा थापालाई चुनाव लड्न ल्याउनेमध्ये बिरेन्द्र प्रसाद सिंह र सुरेन्द्र बहादुर सिंह नै प्रमुख रहेको चर्चा छ। तर थापा पराजित भएपछि स्थानीय कार्यकर्ताहरूले उल्टै उनीहरूले नै सर्लाही ल्याएर हराएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। यसअघि सर्वोच्च अदालतले २०८० फागुन १५ गते सुरेन्द्र बहादुर सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ महिना १५ दिन कैद सजाय सुनाएको थियो। सिसौको रुख कटान गरी बिक्रीबाट आएको रकम हिनामिना गरेको आरोपमा उनीसँग १ करोड २३ लाख ६ सय ६ रुपैयाँ असुल गर्ने विशेष अदालतको फैसला सर्वोच्चले पनि सदर गरेको थियो।