काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवार बनेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ।
सो क्षेत्रमा महतोसहित २९ जनाको जमानत जफत भएको हो । त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन्।
जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत प्राप्त गर्नुपर्ने छ। सम्पन्न मतगणनाको परिणाम अनुसार महतोले पाँच हजार ९९२ मत मात्र प्राप्त गरेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको छ।
महतोले कुल सदर मतको १० प्रतिशत मत समेत प्राप्त गर्न सकेनन्।
त्यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो निर्वाचित भएका छन् ।