काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फ ५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको छ । समानुपातिक निर्वाचन प्रणालीको मतपत्रको छपाइ यसअघि नै पूरा भइसकेको छ । ११ फागुनभित्र सबै मतपत्र छापिसक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये बुधबार साँझसम्म ५५ निर्वाचन क्षेत्रका लागि ६० लाख मतपत्र छापिएको छ । समानुपातिकको मतपत्र छपाइ १२ माघमा सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिएको हो ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको उच्च सुरक्षाबीच मतपत्र छपाइ भइरहेको छ । सेतो कागजमा कालो रङमा ५८ निर्वाचन चिह्न भएको समानुपातिक मतपत्र तयार पारिएको छ । समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । समानुपातिकतर्फको मतपत्र जिल्ला–जिल्लामा ढुवानीका लागि ‘प्याकिङ’ भइसकेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवार कायम छन् । निर्वाचन क्षेत्रमा ५ जनादेखि ४५ जनासम्म उम्मेदवार छन् । कम उम्मेदवार भएका ठाउँमा सानो र धेरै उम्मेदवार भएका स्थानमा ठूलो आकारको मतपत्र छापिँदै छ । प्रत्यक्षतर्फ सेतो कागजमा रातो चुनाव चिह्न भएको मतपत्र हुनेछ । मतपत्रमा राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न हुन्छन् । प्रत्यक्षतर्फ २ करोड ३ लाख प्रति मतपत्र छाप्ने लक्ष्य रहेको छ ।