काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने तय भएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेकाले आज (बिहीबार)का लागि तय गरिएको भेटघाट कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ। पार्टीले जारी गरेको सूचनामा ‘विशेष कारण’ले कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ।
विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरेले प्रधानन्यायाधीश राउतको सचिवालयबाट फोन आएर आजका लागि तय भएको भेटघाट तत्कालका लागि स्थगित भएको जानकारी दिएको बताए।
घिमिरे नेतृत्वको टोली बिहान १०ः३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम तय भएको थियो। कांग्रेसका ६५ जना पूर्व सांसदले संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। तर, ती रिटहरूमाथि हालसम्म सुनुवाइ सुरु भएको छैन।