काठमाडौं । नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र उम्मेदवार छनोटको विषयमा छलफल भएको छ । गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा भएको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता देवराज चालिसे र नेता मधु आचार्य, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र नेता डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल सहभागी थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिएसँगै टिकट वितरणको विषयलाई लिएर तीनवटै समूहका नेताहरूबीच छलफल भएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको मनोनयन रहेको छ ।
मनोनयनका लागि अब एक दिनमात्र बाँकी रहेकाले आन्तरिक कलहलाई थाती राखेर नेताहरु प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयनका लागि जुटेका हुन् । बैठक आज पनि बस्ने बताइएको छ ।