चितवन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन आएर चुनाव हुनेमा ढुक्क हुन अनुरोध गरेका छन् । उनले आज भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटनपछि चुनाव हुने नहुनेबारे सबैको मनमा प्रश्न जन्मिएको भन्दै सरकार, राजनीतिक दलहरू र नेपालको विषयमा चासो राख्ने कूटनीतिक क्षेत्रले पनि निर्वाचन चाहेको भन्दै निर्वाचन हुनेमा ढुक्क हुन अनुरोध गरेका हुन्।
‘हामी अहिले निर्वाचनको मुखमा छौँ । मानिसहरू सबैले सोधिराख्छन्, हुन्छ र चुनाव ? मैले भने चुनाव हुन्छ’, प्रचण्डले भने,‘पहिला संविधानसभा चुनावको बेला पनि भोलि चुनाव छ अघिल्लो दिनसम्म पनि हुन्छ र हुँदैन भन्ने थियो । तर, चुनाव भयो । अहिले पनि चुनाव हुन्छ ।’
नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन र फुटको अवस्थाका कारण अहिले निर्वाचन नहुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग तथा सुरक्षा संयन्त्रसँग बुझ्दा काँग्रेस फुटेर निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको उनको भनाइ छ ।
प्रचण्डले सबैतिरबाट काँग्रेसको फुटले निर्वाचन प्रक्रियालाई असर पार्छ पार्दैन भन्ने जिज्ञासा भएकोले भरे भोलिसम्म नेपाली काँग्रेसको विभाजन र आधिकारिकताको विवादबारे केही न केही निरूपण हुने र निर्वाचन प्रक्रिया अघि बढ्ने दाबी गरे । उनले थपे, काँग्रेसको आधिकारिकताको निरूपणपछि निर्वाचन प्रक्रियामा जान्छ । सरकार पनि प्रतिबद्ध देखिएको छ । अन्य राजनीतिक दलहरू प्नि प्रतिबद्ध देखिएका छन् । यो परिस्थितिमा सहजीकरण गर्न अपिल गर्न चाहन्छु ।’