काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि भारतले ४ सय वटा गाडी सहयोग गर्ने भएको छ। जसमध्ये पहिलो लट एक साताभित्र नेपाल आइपुग्ने छ। गृह मन्त्रालयका अनुसार एक सय ८ वटा गाडीको भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । भारतले निर्वाचन प्रयोजनका लागि नेपाललाई करिब ४ सय गाडी अनुदानस्वरुप दिन लागेको गृह मन्त्रालयले जनाएको छ ।
भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्राण्डको गाडी निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउन लागेको हो । जसमा ४५ वटा स्कोर्पियो र ६१ वटा बोलेरो डबल क्याबिन पिक भ्यान रहेको छ। उक्त गाडी नेपालमा ल्याउन आवश्यक पर्ने करछुटका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनसार भारतले दिने ४ सय गाडी मध्ये १०८ वटा एक साताभित्रै नेपाल आइपुग्नेछ । निर्वाचनका लागि सुरक्षा निकायहरूलाई गाडीको अभाव रहेकाले भारतबाट आउनेमध्ये धेरै सुरक्षा निकायलाई दिने तयारी छ।
यो गाडी नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्नेछ । यसअघि २०७९ सालको निर्वाचनमा पनि भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो। यसबीच नेपालको निर्वाचनका लागि युरोपेली देशहरूले पनि संयुक्त राष्ट्रसंघीय निकाय मार्फत् सहयोग गर्ने भएका छन् ।
चुनावका लागि जापानले सिधै आर्थिक सहायता गर्ने जनाएको छ । चुनावकै शीर्षकमा भन्दा पनि कुनै सहयताको शीर्षक परिवर्तन गरेर चुनावमा सहयोग गर्न जापान तयार रहेको अर्थ मन्त्रालयले जनाएको छ । निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखेको थियो। तर चीनका तर्फबाट अहिलेसम्म कुनै पनि जबाफ आएको छैन ।