काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेस गरिएको छ ।
कांग्रेस संस्थापनले तीनै जना नेतालाई पाँच वर्षका लागि निष्कासन गरिएको पत्र आयोगमा पेस गरेका हुन् । कांग्रेसमा अब को आधिकारिक हुने भनेर लडाइँ हुने देखिएको छ ।
गगन–विश्वले यसअघि नै आफूहरूले विशेष महाधिवेशन गरिरहको र त्यसबाट नयाँ नेतृत्व चयन हुने व्यहोराको पत्र आयोगमा बुझाएका थिए । यसरी दुवै पक्षबाट आयोगमा पत्र पुगेकाले निर्वाचन आयोगले कसलाई आधिकारिक दिन्छ होला भन्ने विषय महत्त्वपूर्ण हुनेछ ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ : थापा
नेपाली कांग्रेसको महामन्त्रीबाट निष्कासनमा परेका नेता गगन थापाले कांग्रेस प्राइभेट कम्पनी नभएकाले कसैले कसैलाई निकाल्न नसक्ने बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले विशेष २४८८ महाधिवेशन प्रतिनिधिले गरेको निर्णय नै अब आधिकारिक कांग्रेस हुने बताएका छन् ।
देशभरका नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता विशेष महाधिवेशनलाई नै दिने प्रष्ट पारे । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गर्दै उनले नयाँ कार्यसमिति चयन गर्ने क्रममा आफूहरु रहेको बताएका छन् ।