काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् ।
उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप लागेको थियो । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिइदिन आग्रह गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयस्रोतका अनुसार उनले सहकारीको रकम अपचलनको आरोपमा चलाइएको ठगी मुद्दासँग जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको चाल भनी जिकिर गरेको बताएको छ ।
सहकारी ठगीको आरोपमा मात्रै बढी कैद सजाय मागदाबी गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप जोडेर बढी कैद सजाय माग गरिएको उनको जिकिर छ । अब ललामिछानेको निवेदन महान्यायाधिवक्ता कार्यालययले के गर्ला भन्ने चासोको बिषय बनेको छ ।
तर उक्त फाइल अगाडि बढाएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता पनि भएको छ । अभियन्ता युवराज सफलले बुधबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा पुगेर उजुरी दर्ता गरेका हुन् ।
उनले उजुरीमा रवि लामिछानेमाथि चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने तयारी भइरहेको दाबी गरेका छन् । उजुरीमा उक्त प्रक्रिया आर्थिक प्रलोभन र प्रभावका आधारमा अघि बढाइएको आफूले जानकारी पाएको उल्लेख गरेका छन् ।

