काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ गतेका लागि तय भएपछि तयारी तीव्र पारिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा जसरी पनि विशेष महाधिवेशन गर्ने अडानमा छन् । नियमित कि विशेष महाधिवेशनको विषयमा देशकै ठुलो राजनीतिक दल नेपाली कांग्रेस अहिले विभाजित छ ।
पार्टीले नियमित महाधिवेशनको कार्यतालिका आम निर्वाचनपछि सारेपछि बहुसंख्यक नेताहरू विशेषको पक्षमा लागेको दाबी गरिएको छ । विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेसंगै त्यसका लागि महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको हो। मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू भइरहेको छ ।
काँग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पुस २७ को विशेष महाधिवेशनमा सहभागी हुन निम्तो समेत दिएका छन् । उता कांग्रेस संस्थापन पक्षले भने पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा अधिवेशन वा विशेष महाधिवेशन बोलाउन नपाइने स्पष्ट पार्दै विशेष महाधिवेशनमा सहभागी नहुन पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरेको छ।