काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा अधिवेशन वा विशेष महाधिवेशन बोलाउन नपाइने स्पष्ट पारेको छ ।
बुधबार जारी विज्ञप्तिमार्फत संस्थापन पक्षले पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन आह्वान गर्ने अधिकार व्यक्तिगत रूपमा कसैलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको जनाएको हो।
विधानविपरीत पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा अधिवेशन वा विशेष महाधिवेशन बोलाउने नाममा गर्ने कुनै पनि गतिविधि अस्वीकार्य हुने चेतावनी दिँदै संस्थापन पक्षले त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी–सदस्यहरू र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत विधानको सम्मान गर्न अपिल गरिएको छ।
नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले यही २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका थिए ।

