काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गरेका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको स्पष्ट पारेका छन् । विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले नेपाली कांग्रेसका लागि महाधिवेशन नियमित प्रक्रिया मात्र नभई पार्टीको ‘जीवनधारा’ भएको उल्लेख गरेका छन् ।पछिल्लो विशेष राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ, गतिशील र जनभावनाअनुरूप बनाउन तथा समसामयिक नीति निर्माणका लागि महाधिवेशन अपरिहार्य भएको उनीहरूको धारणा रहेको छ ।
उनीहरूले पार्टी विधानले तोकेको समयसीमा २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्न वा विधानको धारा १७ २ बमोजिम विशेष महाधिवेशन आह्वान गर्न केन्द्रीय कार्यसमितिसँग पटक–पटक माग गर्दै आएको बताए । तर, महाधिवेशन आयोजनामा निरन्तर ढिलाइ र उदासीनता देखिएको आरोप लगाए । प्रतिनिधिहरूका अनुसार गत असोज २९ गते देशभरका २ हजार ४८८ जना, अर्थात् ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए। यो व्यवस्था विधानअनुसार बाध्यकारी भएको उनीहरूको भनाइ छ । तर, केन्द्रीय कार्यसमितिले उक्त मागलाई औपचारिक एजेन्डासमेत नबनाएको उनीहरूले गुनासो गरे ।
केन्द्रीय समितिको ४८ दिनसम्म चलेको बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भए पनि त्यसको कार्यान्वयन हुन नसकेको प्रतिनिधिहरूले बताए । घोषित मितिअनुसार पौष १६ मा हुनुपर्ने वडा अधिवेशन समेत हुन नसकेको र अन्ततः १५औँ महाधिवेशनका कार्यक्रम स्थगित भइसकेको उनीहरूको दाबी छ ।
उनीहरूले, ‘घोषित मितिमा महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो चेतावनी थियो । अब १५औँ महाधिवेशन नहुने स्पष्ट भइसकेकाले विशेष महाधिवेशन अपरिहार्य भएको छ ।’ उनीहरूले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको भन्दै यसलाई कसैको इच्छा वा छनोटको विषय बनाउन नहुने बताए । पार्टी विधानभन्दा माथि कोही नरहेको र विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु नेतृत्वको न्यूनतम जिम्मेवारी भएको उनीहरूको जोड छ ।
त्यसैगरी, विधानले तोकेको तीन महिनाको समयसीमाभित्र अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आगामी पौष २७–२८ गते विशेष महाधिवेशन आयोजना गर्न केन्द्रीय नेतृत्वसँग पुनः माग गरेका छन् ।उनीहरूले यो मागलाई कसैको जित–हारको रूपमा नलिन आग्रह गर्दै पार्टीको एकता, आन्तरिक लोकतन्त्र र जनताप्रतिको जवाफदेहिता मजबुत बनाउने अवसरका रूपमा ग्रहण गर्न पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।