काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ। बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा, काठमाडौंमा बस्ने तय भएको छ।
पार्टी स्रोतका अनुसार आजको बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची तयार पार्ने विषय मुख्य एजेन्डाका रूपमा रहेको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज र भोलिभित्र बन्द सूची बुझाउनुपर्ने समयसीमा रहेकाले कांग्रेस नेतृत्व सूचीलाई अन्तिम रूप दिन छलफलमा जुटेको हो।
यसअघि बसेका बैठकहरूमा पार्टीभित्रका समसामयिक राजनीतिक विषय, निर्वाचन तयारी तथा संगठनात्मक अवस्थाबारे प्रारम्भिक छलफल भइसकेको बताइएको छ। आजको बैठकमा ती छलफललाई निष्कर्षमा पुर्याउँदै समानुपातिक उम्मेदवार छनोटमा सहमति जुटाउने प्रयास गरिनेछ। निर्वाचन आयोगको समयसीमालाई ध्यानमा राख्दै पार्टीले समावेशीता, क्षेत्रीय सन्तुलन र पार्टीभित्रको आन्तरिक सहमतिका आधारमा उम्मेदवार सूची तयार गर्ने तयारी गरेको नेताहरूको भनाइ छ। बैठकबाट तयार पारिएको बन्द सूची आयोगमा समयमै पेस गरिने पार्टीले जनाएको छ।