काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन नगरी चुनावमा जान खोजिए आफू त्यस्तो चुनावमा सहभागी नहुने स्पष्ट चेतावनी दिएका छन्।
कांग्रेस कार्यसम्पादन समिति बैठकमा बोल्दै थापाले महाधिवेशनबाट नयाँ नेतृत्व र नयाँ संकल्पसहित मात्र जनतामा जानुपर्ने बताए। “बिना महाधिवेशन, बिना नयाँ नेतृत्व चुनावमा लैजाने प्रयास भए म परिवर्तनको झण्डा बोकेर कार्यकर्ताको घर–घरमा जान्छु,” उनले भने।
उनले विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिए त्यसको सशक्त प्रतिवाद हुने चेतावनी पनि दिए। “विशेष महाधिवेशन पन्छाउँछु, पेलेर जान्छु भन्ने कसैले ठानेको छ भने त्यसको प्रतिवाद हुन्छ,” थापाले भने। महाधिवेशनबाट पार्टीको समीक्षा, नयाँ नेतृत्व र जनतासँगको भरोसा नवीकरण आवश्यक रहेको उल्लेख गर्दै थापाले कांग्रेसलाई सच्याएर चुनावमा गए पहिलो पार्टी बन्न सकिने दाबी गरे।