काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ। नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको जानकारी पाएपछि उपमेयर डंगोलले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन्।
उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको मोबाइल नम्बर आफ्नो नभएको स्पष्ट पारेकी हुन्। उनका अनुसार ठगी गर्ने व्यक्तिले आफू अप्ठ्यारोमा परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ। यस विषयमा नेपाल प्रहरी र सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकिएको र कानुनी प्रक्रिया अघि बढाइएको उनले बताइन्।
उपमेयर डंगोलले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, “मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ। यो म होइन र यो मेरो नम्बर पनि होइन। कृपया यस्ता सन्देश आएमा पैसा नपठाउनुहोस् र कुनै प्रतिक्रिया पनि नदिनुहोस्।” पछिल्लो समय सार्वजनिक पदमा रहेका व्यक्तिको नाम प्रयोग गरी डिजिटल माध्यमबाट ठगी गर्ने घटना बढ्दै गएकाले प्रहरीले पनि यस्ता सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।