काठमाडौँ । सिड्नीको बोन्डी बीचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। घटनामा संलग्न दुई आक्रमणकारीलाई प्रहरीले बाबु–छोरा भएको पुष्टि गरेको छ। न्यू साउथ वेल्स प्रहरीले सोमबार बिहान मृतक संख्या पुष्टि गर्दै, १४ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको अस्पतालमा निधन भएको जानकारी दिएको छ।
मृतकको उमेर १० देखी ८७ वर्षको बीचमा रहेको बताइएको छ। आक्रमणकारीमध्ये एक जनाको पनि मृत्यु भएको छ। घाइते भएका करिब ४० जनाको अस्पतालमा उपचार भइरहेको छ, जसमा पाँचजनाको अवस्था गम्भीर रहेको छ। प्रहरी आयुक्त माल ल्यान्योनले दुई जना कथित बन्दुकधारी ५० वर्षीय पुरुष र उनका २४ वर्षीय छोरा भएको बताएका छन्। ल्यान्योनका अनुसार घटनास्थलमै मारिएका ५० वर्षीय आक्रमणकारी कानुनी रूपमा ६ वटा बन्दुक राख्ने लाइसेन्सधारी थिए। यो गोलीकाण्ड १९९६ को पोर्ट आर्थर सामूहिक गोलीकाण्डपछि अस्ट्रेलियाको सबैभन्दा घातक घटना बनेको छ।