काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु हुन लागेको सडक विस्तारको काम तत्कालका लागि रोकिएको छ। सर्वोच्च अदालतले शुक्रबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशपछि शनिबारदेखि लागू हुने भनिएको विस्तार प्रक्रिया स्थगित भएको हो। रास्वपा नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सडक विस्तार अगाडि नबढाउन आदेश दिएको हो।
अदालतले अन्तरिम आदेश जारी रहने–नरहने निर्णयका लागि मंसिर २६ गते दुवै पक्षलाई बहसमा उपस्थित हुन बोलाएको छ। हेटौंडा सडक डिभिजनले बजार क्षेत्र हुँदै जाने राजमार्गको चौडाइ बढाउने लक्ष्यसहित मंसिर २० गतेदेखि घर तथा टहरा हटाउने तयारी गरेको थियो। क्षतिपूर्ति र मुआब्जाको प्रक्रिया पूरा नगरी सडक विस्तार गर्न खोजिएको आरोप लगाउँदै कंसाकारले मंसिर १६ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।अदालतले डिभिजन सडक कार्यालयसहित सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ।

