काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि पनि सरेको छ । गत बिहीबारबाट सूचना टाँसेर तीन पटकसम्म सारिएको बैठक आज फेरि सूचना टाँसेर सारिएको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ। ’
गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राखेर सकिएको थियो । जारी बैठकले १५ औं महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिने बुझिएको छ ।
